Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 27

दावीदको भजन।

याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;

मैले कसको भय मान्‍नु?

याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ;

म कोसँग भयभीत हुनु?

जब दुष्‍टहरू मलाई आक्रमण गर्न

मेरो विरुद्धमा अगि बढ्छन्,

जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;

तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।

सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि

मेरो हृदय डराउनेछैनँ;

मेरो विरुद्धमा लडाइँ चले तापनि

त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।

याहवेहसँग म एउटै कुरा माग्दछु,

म त्यसैको मात्र खोजी गर्दछु:

कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,

उहाँको सुन्दरता हेर्न पाऊँ,

र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।

किनकि सङ्कष्‍टका दिनमा

उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;

उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;

र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।

तब मेरो वरिपरिका शत्रुहरूमाथि

मेरो शिर उच्‍च पारिनेछ;

उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु;

म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।

हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्;

ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।

मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।”

हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।

मबाट तपाईंको मुहार नलुकाउनुहोस्;

तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्;

तपाईं मेरा सहायक हुनुभएको छ।

हे परमेश्‍वर, मेरा मुक्तिदाता,

मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।

मेरा बुबाआमाले मलाई त्यागे तापनि

याहवेहले मलाई सम्हाल्नुहुनेछ।

हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;

र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,

मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।

मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;

किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्,

तिनीहरू खराब आरोप लगाउँछन्।

म यसमा अझ विश्‍वस्त छु:

म जीवितहरूको देशमा

याहवेहको भलाइ देख्नेछु।

याहवेहको प्रतीक्षा गर;

बलियो र हृदयमा साहसिलो होऊ;

र याहवेहको प्रतीक्षा गर।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.