Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 26
दावीदको भजन।
हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्;
किनकि मैले दोषरहित जीवन जिएको छु;
ढलपल नभइकन
मैले याहवेहमा भरोसा राखेको छु।
हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्।
मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;
किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ;
र म तपाईंको विश्वासयोग्यतामा हिँडेको छु।
म छली मानिसहरूसँग बस्दिनँ,
न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।
कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु;
म दुष्ट काम गर्नेहरूसँग बस्न इन्कार गर्दछु।
हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु,
र तपाईंका वेदीको परिक्रमा गर्दछु।
उच्च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु,
र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।
हे याहवेह, तपाईंको वासस्थान,
र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।
पापीहरूसँग मेरो प्राण,
रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;
जसका हातहरू दुष्ट योजनाहरूले भरिएका छन्,
र जसका दाहिने हात घूसले भरिएका छन्।
तर म त निर्दोष जीवन जिउँछु;
मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।
मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्;
ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.