Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 147
याहवेहको प्रशंसा गर!1
हाम्रा परमेश्वरको स्तुति गाउनु असल हो;
उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!
याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ;
उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।
उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,
र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ;
र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।
हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ;
उहाँको समझशक्तिको कुनै सीमा छैन।
याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ;
तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ।
कृतज्ञतासहित याहवेहका निम्ति गाओ;
वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ।
उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ,
र पृथ्वीलाई वर्षा दिनुहुन्छ;
अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।
उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ,
र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।
उहाँको आनन्द घोडाको बलमा होइन,
न त योद्धाका खुट्टामा उहाँ प्रसन्न हुनुहुन्छ;
तर याहवेह उहाँको भय मान्नेहरूसँग,
उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ।
हे यरूशलेम, याहवेहको स्तुति गर्!
हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्।
उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ;
अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।
उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ,
उहाँले तँलाई असल गहुँले सन्तुष्ट पार्नुहुन्छ।
उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ;
उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।
उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ;
अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।
उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ;
उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?
उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ;
उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।
उहाँले आफ्नो वचन याकोबलाई,
अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।
उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन;
तिनीहरूले उहाँका नियमहरू जान्दैनन्।
याहवेहको प्रशंसा गर!
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह ; 20 पदमा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.