Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 148
याहवेहको प्रशंसा गर!1
स्वर्गहरूबाट याहवेहको प्रशंसा गर!
उच्च स्थानहरूबाट उहाँको प्रशंसा गर!
हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर!
हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!
हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर;
हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!
हे सर्वोच्च स्वर्गहरू र आकाशमाथिका पानी हो,
तिमीहरूले उहाँको प्रशंसा गर!
तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्;
किनकि तिनीहरू उहाँका आज्ञामा सृष्टि भए।
तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो;
उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो।
पृथ्वीबाट याहवेहको प्रशंसा गर!
हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो,
बिजुली र असिना, हिउँ र बादल,
उहाँका वचन पालन गर्ने आँधीबतास हो;
पर्वतहरू र सबै डाँडाहरू हो,
फल फलाउने रूखहरू र सबै देवदारुहरू हो;
जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो;
स-साना जीवजन्तु र उड्ने पक्षीहरू,
पृथ्वीका राजाहरू र राष्ट्रहरू,
भारदारहरू र पृथ्वीका सबै शासकहरू,
युवकहरू र युवतीहरू,
वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर!
तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्;
किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ;
उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्च छ।
उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ2 खडा गर्नुभएको छ;
इस्राएलका सबै विश्वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति,
जो उहाँको हृदयका नजिक रहन्छन्।
याहवेहको प्रशंसा गर!
Source notes (2)
- Footnote मूल भाषामा हल्लेलूयाह ; 14 पदमा पनि
- Footnote सिङ यहाँ यसको अर्थ शक्ति भन्ने हुन्छ
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.