Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 145

दावीदको प्रशंसाको भजन।

हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु;

म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।

हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,

र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।

याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;

उहाँको महानता अपार छ।

एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;

तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।

तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्—

र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।

मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्—

र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।

तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्,

र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।

याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ;

रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।

याहवेह सबैमाथि भलो हुनुहुन्छ;

र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।

हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्;

तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।

तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;

र तपाईंको शक्तिको बखान गर्नेछन्,

ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,

र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।

तपाईंको राज्य अनन्तको राज्य हो,

र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,

र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।1

लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;

दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।

सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्;

अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।

तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,

र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।

याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ,

र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।

याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,

उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।

उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;

उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।

उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ;

तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ।

मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ;

हरेक प्राणीले सदासर्वदा

उहाँको पवित्र नामको प्रशंसा गरून्!

Source notes (1)
  1. Footnote केही प्राचीन पा.लि.हरूमा पद 13 का अन्तिम दुई हरफहरू पाइँदैनन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.