Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 144
दावीदको भजन।
याहवेह मेरा चट्टानलाई प्रशंसा होस्,
जसले मेरा हातहरूलाई युद्धकला,
र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।
उहाँ मेरो प्रेमिलो परमेश्वर, र मेरो किल्ला हुनुहुन्छ;
उहाँ मेरो बलियो किल्ला र मेरो उद्धारक,
मेरो ढाल, जसमा म शरण लिन्छु,
उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।
हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ,
मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?
तिनीहरू त केवल सासजस्तो मात्र हुन्;
तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्।
हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्;
पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।
बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्!
आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!
उच्च स्थानबाट आफ्ना हात लम्काउनुहोस्;
अनि उर्लंदो बाढीबाट
र विदेशीहरूका हातबाट
मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।
जसका मुख झूटले भरिएका छन्,
जसका दाहिने हात छली छन्।
हे मेरा परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु;
दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,
उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ;
जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ।
घातक तरवारबाट मलाई छुटकारा दिनुहोस्;
विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्;
जसको मुख झूटले भरिएको छ,
जसको दाहिने हात छली छ।
तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा
मौलाउँदा रूखहरूजस्ता हुनेछन्,
र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका
स्तम्भहरूजस्ता हुनेछन्।
हाम्रा धनसारहरू
हरेक किसिमका अन्नले भरिभराउ हुनेछन्;
हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्,
हाम्रा खेतमा ती लाखौँ हुनेछन्;
हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्।
जहाँ पर्खालहरू फोरिनेछैनन्;
हामी निर्वासनमा जानुपर्नेछैन;
हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।
धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ;
धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्वर याहवेह हुनुहुन्छ!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.