Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 143

दावीदको भजन।

हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्;

दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्;

तपाईंको विश्‍वसनीयता र धार्मिकताअनुसार

मलाई जवाफ दिनुहोस्!

आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्;

किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।

शत्रुले मलाई लखेट्छ;

त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ;

धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी,

त्यसले मलाई अन्धकारमा बस्‍न बाध्य पार्दछ।

यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ;

मेरो हृदय मभित्रै विचलित भएको छ।

म अतीतका ती दिनहरू सम्झना गर्दछु;

तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु,

र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।

म मेरा हात तपाईंतिर फैलाउँछु;

सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला

हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्;

मेरो आत्मा क्षीण हुँदछ।

तपाईंको मुहार मबाट नलुकाउनुहोस्;

नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु।

हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;

किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;

म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;

किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।

हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;

किनकि म आफूलाई तपाईंमा लुकाउँछु।

मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्;

किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।

तपाईंको असल आत्माले

मलाई समतल जमिनमा डोर्‍याऊन्!

हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्;

तपाईंको धार्मिकतामा मलाई कष्‍टबाट छुटाउनुहोस्।

तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्;

मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्;

किनकि म तपाईंको सेवक हुँ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.