पवित्र बाइबल
भजनसंग्रह 10
हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ? आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् । किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ । दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्वरलाई खोज्दैन । त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन । त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन् । त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ । त्यसले आफ्नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन ।” त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ । त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ । सिंह झाडीमा लुकेझैं त्यो गुप्तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्न त्यो पर्खेर बस्छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ । त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् । त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।” हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् । किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”? तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ । दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो । परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्छन् । हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ । तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.