Skip to content
BibleKenya

पवित्र बाइबल

प्रस्थान 14

तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, “इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ । फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।' म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे । इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।” तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे । तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए । परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए । तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए । जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे । तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको? के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।” मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ । परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे । तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् । मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु । तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो । यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् । मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो । इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो । मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे । तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो । तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।” त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो । पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो । यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे । परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.