Skip to content
BibleKenya

पवित्र बाइबल

प्रस्थान 13

तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, “इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।” मोशाले मानिसहरूलाई भने, “आजको दिन सम्झना राख । आजकै दिन परमप्रभुको शक्तिशाली हातद्वारा तिमीहरू मिश्रको दासत्वबाट यस ठाउँमा ल्याइएका छौ । खमिर हालेको कुनै पनि रोटी खाइनेछैन । तिमीहरू आबीब महिनाको आजकै दिनमा मिश्रबाट बाहिर जाँदै छौ । परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्‍ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्‍नू । सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ । सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् । त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।' यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ । त्यसकारण वर्षैपिच्छे तिमीहरूले तोकिएको समयमा यो विधिको पालन गर्नू । परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू । गधाको हरेक पहिलो फललाई एउटा पाठोद्वारा छुटाउनू । त्यो छुटाएनौ भने त्यसको घाँटी निमोठिदिनू । तर तिमीहरूका सबै छोराका बिचमा पहिलो फललाई तिमीहरूले छुटाउनैपर्छ । 'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो । हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।' यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।” फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।” त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे । मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्‍चय नै परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।” इस्राएलीहरू सुक्‍कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे । परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे । परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.