Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 94
हे याहवेह, बदला लिनुहुने परमेश्वर,
हे बदला लिनुहुने परमेश्वर, चम्कनुहोस्!
हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्;
अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्!
हे याहवेह, कहिलेसम्म दुष्टहरू,
आखिर कहिलेसम्म दुष्टहरू उल्लासित भइरहून्?
तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्;
सबै कुकर्मीहरू घमण्डले भरिएका छन्।
हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्;
तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्।
तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्;
अनाथहरूलाई हत्या गर्दछन्।
तिनीहरू भन्छन्, “याहवेहले देख्नुहुन्न;
याकोबका परमेश्वरले चाल पाउनुहुन्न।”
मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर,
ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?
जसले कान दिनुभयो के उहाँले सुन्नुहुन्न र?
जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्न र?
के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्न र?
के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र?
याहवेहले मानिसका सबै योजनाहरू जान्नुहुन्छ;
ती व्यर्थ हुन्, भनी उहाँ जान्नुहुन्छ।
हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ,
जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ;
दुष्टहरूका निम्ति खाडल नखनिएसम्म
तपाईंले त्यसलाई कष्टका दिनमा आराम दिनुहुनेछ,
किनकि याहवेहले आफ्ना प्रजालाई तिरस्कार गर्नुहुनेछैन।
उहाँले आफ्ना उत्तराधिकारीहरूलाई त्याग्नुहुनेछैन।
न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ,
र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्।
दुष्टहरूका विरुद्धमा मसँग को उठ्नेछ?
कुकर्मीहरूका विरुद्ध मेरो पक्षमा को खडा हुनेछ?
याहवेहले मलाई सहायता नगर्नुभएको भए,
म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ।
जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ”
तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो।
जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो,
तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
के भ्रष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्,
जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्?
तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्,
र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्।
तर याहवेह मेरो किल्ला हुनुभएको छ,
र परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।
उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ,
र तिनीहरूका दुष्टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ;
याहवेह हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.