Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 91

जो सर्वोच्‍च परमेश्‍वरको शरणमा बास गर्दछ,

त्यो सर्वशक्तिमान्‌को छत्रछायामुनि सुरक्षित रहनेछ।

म याहवेहको बारेमा भन्‍नेछु, “उहाँ मेरा शरणस्थान र किल्‍ला हुनुहुन्छ,

मेरा परमेश्‍वर, उहाँमा नै म भरोसा राख्दछु।”

निश्‍चय नै उहाँले तिमीलाई

शिकारीको पासोबाट

र घातक रूढीबाट बचाउनुहुनेछ।

उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;

र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ;

उहाँको विश्‍वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।

तिमी रातको त्रासदेखि डराउनेछैनौ,

न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,

न अन्धकारमा फैलिने रूढीदेखि,

न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।

तिम्रो नजिक एक हजार जना ढल्नेछन्,

तिम्रो दाहिने हाततिर दश हजार;

तर त्यो तिम्रो नजिक आउनेछैन।

तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ,

र दुष्‍टहरूको दण्ड देख्नेछौ।

यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,”

र सर्वोच्‍च परमेश्‍वरलाई आफ्नो वासस्थान बनायौ भने,

तिम्रो कुनै अनिष्‍ट हुनेछैन,

तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।

किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई

तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;

तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्,

ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।

तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ;

जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।

याहवेह भन्‍नुहुन्छ, “उसले1 मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु;

उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।

उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु;

उसका दुःखको घडीमा म उसँग रहनेछु;

म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।

लामो आयु दिएर म उसलाई सन्तुष्‍ट पार्नेछु

र म उसलाई मेरो मुक्ति देखाउनेछु।”

Source notes (1)
  1. Footnote सम्भवतः राजा हुनुपर्छ

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.