Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 66
सङ्गीत निर्देशकको निम्ति, एक गीत; एक भजन।
हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजयकार गर!
उहाँको नामको महिमा गर;
र उहाँको प्रशंसा महिमामय बनाओ।
परमेश्वरलाई भन, “तपाईंका कार्यहरू कति अद्भुत छन्!
तपाईंको शक्ति यति महान् छ
कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।
सारा पृथ्वी तपाईंको सामु झुक्छ;
तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्,
तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला
आओ र परमेश्वरले गर्नुभएका कामहरू हेर;
मानिसहरूको निम्ति उहाँका अद्भुत कार्यहरू!
उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो,
तिनीहरूले पैदलै सुक्खा नदी तरे—
आओ, हामी उहाँमा आनन्द मनाऔँ।
परमेश्वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ;
उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ—
तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला
हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्वरलाई प्रशंसा गर,
उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्;
उहाँले हामीलाई जीवित राख्नुभएको छ,
र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन।
किनकि हे परमेश्वर, तपाईंले हामीलाई जाँच गर्नुभयो;
तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।
तपाईंले हामीलाई कैदमा पार्नुभयो;
र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो।
तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो;
हामी आगो र पानीद्वारा भएर गयौँ;
तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।
म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु;
र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।
जब म सङ्कष्टमा थिएँ,
मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु।
म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु;
र भेडाहरूको भेटी चढाउनेछु;
म बहरहरू र बोकाहरू चढाउनेछु। सेला
हे परमेश्वरको भय मान्नेहरू हो, सबै आओ र सुन;
उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।
मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ;
उहाँको प्रशंसा मेरो जिब्रोमा थियो।
यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए,
प्रभुले मेरो बिन्ती सुन्नुहुने थिएन;
तर परमेश्वरले साँच्चै नै सुन्नुभएको छ;
र उहाँले मेरो प्रार्थना सुन्नुभएको छ।
परमेश्वरलाई प्रशंसा होस्,
जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन,
वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.