Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 64
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
हे मेरा परमेश्वर, मैले गुनासो गर्दा मेरो सोर सुन्नुहोस्;
शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!
दुष्टहरूको गुप्त पासोहरूबाट
कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!
तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्,
र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।
तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्;
तिनीहरूले डरैविना अचानक काँड हान्छन्।
तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्;
तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्;
तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र1?”
तिनीहरू अन्याय रच्छन् र भन्छन्,
“हामीले सिद्ध योजना बनाएका छौँ!”
मानिसको मन र हृदय साँच्चै धूर्त छ।
तर परमेश्वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्नुहुनेछ;
तिनीहरू अचानक घाइते हुनेछन्।
उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ,
र तिनीहरूलाई नष्ट पार्नुहुनेछ;
तिनीहरूलाई देख्ने सबैले गिल्ला गर्दै टाउको हल्लाउनेछन्।
सबै मानिसहरू परमेश्वरसँग डराउनेछन्;
तिनीहरूले परमेश्वरको कामको घोषणा गर्नेछन्;
र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।
धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्,
र उहाँमा शरण लिनेछन्;
साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!
Source notes (1)
- Footnote अथवा हामीलाई
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.