Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 107

पाँचौँ खण्ड

भजनसंग्रह 107–150

याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;

उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।

याहवेहले छुटकारा दिनुभएकाहरूले

वैरीहरूका हातबाट छुटाइएकाहरूले,

विभिन्‍न देशहरूबाट,

पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:

कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्,

र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।

तिनीहरू भोक र प्यासले दुर्बल भई

प्राण जालाजस्तै भइसकेका थिए।

तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।

उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर,

तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो।

उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति,

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,

र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ।

कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए,

कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्‍ट भोगिरहेका थिए,

किनकि तिनीहरूले परमेश्‍वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए

र सर्वोच्‍च परमेश्‍वरको योजनालाई तिरस्कार गरेका थिए।

यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो;

तिनीहरूले ठक्‍कर खाए, तर मदत गर्नलाई कोही थिएन।

तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।

उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो;

र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।

उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;

किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ,

र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने,

र आफ्नै अधर्मका कारण कष्‍ट भोगे।

तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्‍कै भए,

र मृत्युका ढोका नजिक पुगे।

तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।

उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो,

तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।

उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

तिनीहरूले धन्यवादका बलि चढाऊन्

र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!

कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए;

तिनीहरू महासागरका व्यापारीहरू थिए।

तिनीहरूले याहवेहका कामहरू देखे,

गहिरो सागरमा तिनीहरूले उहाँका अद्‌भुत कार्यहरू देखे।

किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो,

जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।

छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे;

यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।

तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे;

तिनीहरूका सबै सिपहरू बेकार साबित भए।

तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।

उहाँले आँधीलाई शान्त पार्नुभयो;

समुद्रका छालहरू साम्य भए।

आँधी शान्त हुँदा तिनीहरू खुशी भए;

र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्‍याउनुभयो।

उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्‍च पारून्,

र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!

उहाँले नदीहरूलाई मरुभूमिमा,

र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।

त्यहाँका बासिन्दाहरूका दुष्‍टताको कारणले गर्दा,

मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।

उहाँले मरुभूमिलाई तालमा

र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;

उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो,

र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।

तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए,

अनि प्रशस्त उब्जनी कटनी गरे;

उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो;

अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।

त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा,

तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;

उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ,

र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।

तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो,

र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।

धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्,

तर सबै दुष्‍टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।

जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्,

र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.