Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
मत्ती 10
येशूले बाह्र चेलाहरूलाई पठाउनुभएको
येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्:
पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास;
जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना;
फिलिप अनि बारथोलोमाइ;
थोमा अनि कर उठाउने मत्ती;
अल्फयसका छोरा याकोब र थेदियस;
सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस। बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
“आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्का नलैजाओ। यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर। यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ। म तिमीहरूलाई साँच्चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ।
“म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ। मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्। मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ। किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ। जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
“चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ। चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल1 भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
“यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन। जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ। शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ। के एक पैसामा2 दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
“जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु।
“म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ। किनकि म,
“ ‘मानिसलाई उसको बुबाको विरुद्धमा,
छोरीलाई उसकी आमाको विरुद्धमा,
बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ।
मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’3
“जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ।
“जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ। यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्दछु, निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”
Source notes (3)
- Footnote बालजिबुल दुष्ट आत्माहरूको प्रधान
- Footnote एक दिनको ज्यालाको सोह्र भागको एक भाग
- Footnote मीका 7:6
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.