Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 27

आफ्ना साथीहरूलाई इयोबको अन्तिम भाषण

तब इयोबले आफ्नो बहस जारी राखे:

“सर्वशक्तिमान् परमेश्‍वर जीवित हुनुभएझैँ,

जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ,

र मेरो जीवन तितो बनाइदिनुभएको छ,

जबसम्म मभित्र जीवन रहन्छ,

र परमेश्‍वरको सास मेरा नाकमा रहन्छ,

मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन,

मेरो जिब्रोले झूटो कुरा उच्‍चारण गर्नेछैन।

तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ;

म नमरुन्जेल मेरो निष्‍ठालाई म इन्कार गर्नेछैनँ।

म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ;

म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्‍कार्नेछैनँ।

“मेरो शत्रु दुष्‍टजस्तै,

र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्!

किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र?

जब परमेश्‍वरले त्यसको जीवनलाई लिनुहुन्छ,

तब त्यसमाथि कष्‍ट आइलाग्दा,

के परमेश्‍वरले त्यसको विलाप सुन्‍नुहुनेछ र?

के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र?

के त्यसले सधैँ परमेश्‍वरको नाम पुकार्नेछ र?

“म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु;

सर्वशक्तिमान्‌का मार्गहरू म लुकाउनेछैनँ।

तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ।

तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ।

“परमेश्‍वरले दुष्‍ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ,

निर्दयी मानिसले सर्वशक्तिमान्‌बाट प्राप्‍त गर्ने उत्तराधिकार यही हो:

त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ;

त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन।

अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ,

र त्यसका विधवाहरूले त्यसका निम्ति शोक गर्नेछैनन्।

त्यसले धुलोसरी चाँदी थुपारे तापनि

माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि

त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्,

र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्।

त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ,

पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ।

दुष्‍ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन;

त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्।

भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ;

आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ।

पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन;

बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ।

बतासको शक्तिबाट त्यो टाढा भागे तापनि

बतास त्यसको विरुद्धमा दया नदेखाई जाइलाग्नेछ।

बतासले त्यसलाई उपहासको थपडी मार्नेछ,

र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.