Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
इयोब 28
बुद्धिको खोज
पक्कै पनि चाँदीको निम्ति खानी हुन्छ,
र सुनलाई खारिने ठाँउ हुन्छ।
फलाम पृथ्वीबाट निकालिन्छ,
र धातु गालेर तामा निकालिन्छ।
मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ;
तिनीहरूले पृथ्वीको अति गहिराइमा
र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।
मानव वासस्थानदेखि टाढा,
मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्;
अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्लिँदै धातु खनेर निकाल्छन्।
पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ,
त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ;
त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्,
र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।
आकाशका शिकारी पक्षीहरूले त्यस गुप्त बाटोलाई जान्दैनन्,
कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन।
जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्,
र कुनै सिंहले त्यसमा शिकार गरेको छैन।
मानिसहरूले चकमके ढुङ्गालाई तिनीहरूका हातले फोर्छन्;
र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।
तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्;
तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।
तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्,
र गुप्तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।
तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?
समझशक्तिको बास कहाँ छ?
मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;
यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।
महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”;
समुद्रले भन्छ, “त्यो मसित छैन।”
त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन;
न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन,
बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्त हुन्न।
त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;
न त त्यसलाई सुनको गहनाले किन्न सकिन्छ।
मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ;
बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन;
बुद्धिलाई निखुर सुनले पनि किन्न सकिँदैन।
त्यसो भए बुद्धि कहाँबाट आउँछ,
र समझशक्तिको बास कहाँ छ?
त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ,
अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
विनाश1 र मृत्युले भन्छन्,
“हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।”
परमेश्वरले मात्र यसको बाटो बुझ्नुहुन्छ;
र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,
किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ;
र उहाँले आकाशमण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।
जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो
र बादलमा पानीको मापन गर्नुभयो;
जब उहाँले वर्षालाई आदेश दिनुभयो,
र चट्याङको लागि बाटो तयार पार्नुभयो;
तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो;
उहाँले त्यसलाई पक्का गर्नुभयो र जाँच्नुभयो।
अनि परमेश्वरले मानिस जातिलाई भन्नुभयो,
“हेर प्रभुको भय नै बुद्धि हो;
र दुष्टताबाट अलग रहनु नै समझशक्ति हो।”
Source notes (1)
- Footnote मूल भाषामा विनाशकर्ता
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.