Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 20

सोपरको संवाद

तब सोपर नमातीले जवाफ दिए:

“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ;

किनकि म धेरै विचलित भएको छु।

जब म मेरो अपमान हुने गालीहरू सुन्छु,

मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।

“निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ,

मानव-जातिलाई1 यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,

कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि,

र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।

यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला

र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,

तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ;

त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’

कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ,

रातको दर्शनजस्तै लोप भएर जान्छ।

त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्;

त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।

त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ;

त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।

त्यसका हड्डीहरूमा भरिएका यौवन

त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।

“दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि

र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,

तथापि त्यसले त्यो छोड्न सक्दैन,

त्यसको मुखमै रहिरहे तापनि

त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ;

र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।

त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ;

परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।

त्यसले सर्पको विष चुस्‍नेछ;

विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।

त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने

नदीहरूमा आनन्द लिन पाउनेछैन।

त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ;

त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।

किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ;

र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।

“निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन;

त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।

त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन;

त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।

त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ;

जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।

त्यसले आफ्नो पेट भरेको बेला,

परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ,

र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।

त्यो फलामको हतियारबाट बाँचे तापनि

काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।

त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ,

र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ।

अनि त्रास त्यसमाथि आइपर्नेछ।

त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ;

नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ;

र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।

आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ;

पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।

त्यसको घरलाई बाढीले,

र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।

परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ,

परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”

Source notes (1)
  1. Footnote अथवा आदम

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.