Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
इयोब 19
इयोबको संवाद
तब इयोबले जवाफ दिए:
“तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ
र तपाईंहरूको वचनले मलाई आघात पुर्याउनुहुन्छ?
तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ;
तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ।
यदि म बरालिएको साँचो हो भने
मेरो गल्तीको सरोकार मसँगै मात्र रहन्छ।
यदि तपाईंहरूले आफूलाई मभन्दा उच्च ठान्नुहुन्छ,
र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्वरले ममाथि अन्याय गर्नुभएको छ,
र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ।
“मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ;
मैले सहायताको निम्ति गुहार मागे तापनि म कुनै न्याय पाउँदिनँ।
उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ;
उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ।
उहाँले मेरो सम्मान मबाट खोस्नुभएको छ,
र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ।
उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्नभिन्न पार्नुहुन्छ;
उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ।
उहाँको क्रोध मेरो विरुद्धमा जल्छ;
उहाँले मलाई आफ्ना शत्रुहरू मध्येको एक ठान्नुहुन्छ।
उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्;
तिनीहरूले मेरो विरुद्ध घेरा लगाएर बस्छन्,
र मेरो पालका चारैतिर छाउनी बनाएर बस्छन्।
“उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ;
मेरा इष्टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्।
मेरा आफन्तहरू टाढा भएका छन्;
मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्।
मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्;
तिनीहरूले मलाई पराईझैँ ठान्छन्।
म मेरो सेवकलाई बोलाउँछु,
मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन;
मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ;
मेरा आफ्नै दाजुभाइहरूका बीचमा म घृणित भएको छु।
साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्;
जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्।
मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्;
मैले अति प्रेम गरेकाहरू सबै मेरो विरुद्धमा उठेका छन्।
अब त म मात्र हाड र छाला भएको छु;
म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।1
“मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्;
किनकि परमेश्वरको हातले मलाई प्रहार गर्नुभएको छ।
परमेश्वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ?
मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन?
“अहो, मेरा शब्दहरू लेखिएका भए,
ती एउटा चर्मपत्रमा लेखिएका भए,
यदि ती सिसामा फलामको औजारले खोपिएका भए,
अथवा सदाको निम्ति चट्टानमा खोपिएका भए हुनेथियो!
म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ,
र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा2 खडा हुनुहुनेछ।
अनि मेरो छाला नष्ट भइसकेपछि पनि,
अझै म मेरो शरीरमा परमेश्वरलाई देख्नेछु;
म आफैँले उहाँलाई देख्नेछु,
मेरो आफ्नै आँखाले—अरू कसैले होइन।
मेरो हृदय मभित्र कति इच्छुक हुन्छ!
“यदि तपाईंहरूले यसरी भन्नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ;
किनकि समस्याको जड त त्यो आफैँ हो,’
तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्;
किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ,
र त्यसपछि तपाईंहरूले न्याय3 छ भनेर जान्नुहुनेछ।”
Source notes (3)
- Footnote मरेर बाँचेको छु।
- Footnote अथवा मेरो चिहानमा
- Footnote अथवा परमेश्वर जो न्यायकर्ता हुनुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.