Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 18

बिल्ददको संवाद

तब बिल्दद शुहीले यस्तो जवाफ दिए:

“तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ?

संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौँ।

हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ,

र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?

तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ;

के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने?

अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?

“दुष्‍ट मानिसको बत्ती निभाइन्छ;

त्यसको आगोको ज्वाला बल्न छोड्छ।

त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ;

त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।

त्यसको बलियो पाइला कमजोर हुन्छ;

त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।

त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ;

त्यो त्यसको फन्दामा भौँतारिन्छ।

धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ;

पासोले त्यसलाई जोडसित समातेर राख्छ।

त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ;

त्यसका बाटोमा एउटा धराप थापिएको छ।

त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ,

र त्यसको हरेक पाइलालाई खेद्‌दछ।

विपत्ति त्यसको निम्ति भोकाएको छ;

जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।

रोगले त्यसका छालाका भागहरू खाइदिन्छ;

मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।

त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ;

र आतङ्कहरूको राजाकहाँ लगिन्छ।

त्यसको पालमा आगोले बास गर्छ,1

त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।

तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्,

र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।

त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ;

देशमा त्यसको नामनिशानै रहनेछैन।

त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ

र त्यसलाई संसारबाटै निकालिनेछ।

त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्;

एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।

त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्;

र पूर्वका मानिसहरू त्रसित हुनेछन्।

साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ;

परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”

Source notes (1)
  1. Footnote अथवा त्यससँग केही पनि बाँकी रहनेछैन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.