Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 53

कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?

र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ?

ऊ उहाँको सामु कलिलो टुसाजस्तो,

र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो।

ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन;

उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।

मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,

दुःखित मानिस, जो कष्‍टसित परिचित थियो।

ऊ त्योजस्तो थियो, जसलाई देखेर

मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्;

ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।

निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;

अनि हाम्रा कष्‍टहरूलाई बोक्यो,

तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको,

उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।

तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।

ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो;

हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो;

अनि उसका चोटहरूले हामी निको भयौँ।

हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;

हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ।

याहवेहले उसैमाथि

हामी सबैका अपराधहरू राखिदिनुभएको छ।

उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो,

तर पनि उसले आफ्नो मुख खोलेन;

उसलाई मारिन लगिएको थुमाझैँ लगियो;

ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ,

उसले आफ्नो मुख खोलेन।

अत्याचार1 र न्यायद्वारा भएर ऊ लगियो।

अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ?

किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो;

र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।

उसको चिहान दुष्‍टहरूसित बनाइयो,

तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो;

किनकि उसले कुनै अत्याचार गरेको थिएन,

न त उसको मुखमा कुनै छल नै थियो।

तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो;

याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि

उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्;

अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।

उसको प्राणको कष्‍टपछि

उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ।

आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ;

अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।

यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु;

अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ;

किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ;

ऊ अधर्मीहरूसित गनियो।

किनकि उसले चाहिँ धेरैको पाप बोक्यो,

र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो।

Source notes (1)
  1. Footnote अथवा गिरफ्तारद्वारा

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.