Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
होशे 6
पश्चात्ताप नगर्ने इस्राएल
“आओ, हामी याहवेहतिर फर्कौँ।
उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ,
तर उहाँले हामीलाई निको पार्नुहुनेछ;
उहाँले हामीलाई चोट पार्नुभएको छ,
तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ;
तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ,
र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।
हामी याहवेहलाई स्वीकार गरौँ;
हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ।
निश्चय नै सूर्य उदाएझैँ
उहाँ देखा पर्नुहुनेछ;
उहाँ हामीकहाँ हिउँदको झरीझैँ
र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
“हे एफ्राइम, म तँलाई के गरूँ?
हे यहूदा, म तँलाई के गरूँ?
तेरो प्रेम बिहानको कुइरोझैँ
र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु;
मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु;
त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।1
किनकि म बलिदान होइन, तर दया चाहन्छु,
र होमबलिहरूभन्दा परमेश्वरलाई चिनेको म चाहन्छु।
आदमले जस्तै2 तिनीहरूले मेरो करार भङ्ग गरेका छन्;
तिनीहरूले त्यहाँ मप्रति विश्वासघात गरेका छन्।
गिलाद दुष्ट मानिसहरूको सहर हो,
र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।
जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्,
त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्;
आफ्ना दुष्ट योजनाहरू पूरा गर्न
तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।
मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु:
त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ,
इस्राएल अपवित्र पारिएको छ।
“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा,
हे यहूदा, तेरो निम्ति पनि
कटनीको समय तोकिएको छ।
Source notes (2)
- Footnote हिब्रूमा यसको अर्थ अनिश्चित छ।
- Footnote आदमले जस्तै अथवा मानव जातिले जस्तै
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.