Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

होशे 5

इस्राएलको विरुद्धमा न्याय

“हे पुजारीहरू हो, यो कुरा सुन!

हे इस्राएलीहरू हो, ध्यान दिएर सुन!

हे राजकीय घराना हो, ध्यानसित सुन!

यो न्याय तिमीहरूको विरुद्धमा छ:

तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ,

र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ।

विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्;

म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु।

म एफ्राइमको बारेमा सबै कुरा जान्दछु;

इस्राएल मदेखि लुकेको छैनँ।

एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्;

इस्राएल भ्रष्‍ट भएको छ।

“तिनीहरूका कामहरूले तिनीहरूलाई

आफ्ना परमेश्‍वरतर्फ फर्कन दिँदैन।

तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ;

तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्।

इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ;

इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्‍कर खानेछन्;

तिनीहरूसँग यहूदाले पनि ठक्‍कर खानेछ।

जब तिनीहरू याहवेहलाई खोज्न

आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्,

तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्;

उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ।

तिनीहरू याहवेहप्रति विश्‍वासघाती भएका छन्;

तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्।

जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्,

तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्।

“गेबामा तुरही फुक,

रामामा बिगुल फुक।

बेथ-आवेनमा युद्धको ध्वनि उठाओ;

हे बेन्यामीन, अगुवाइ गर।

न्यायको दिनमा

एफ्राइमलाई उजाड पारिनेछ।

इस्राएलका कुलहरूका बीचमा

यी कुराहरू निश्‍चित छन्, म घोषणा गर्दछु।

यहूदाका अगुवाहरू

सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्।

म तिनीहरूमाथि वर्षाको बाढीजस्तै

मेरो क्रोध खन्याउनेछु।

एफ्राइम थिचोमिचोमा परेको छ,

न्यायमा त्यो कुल्चीमिल्ची भएको छ;

त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ।

म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु,

र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु।

“जब एफ्राइमले आफ्नो रोग देख्यो

र यहूदाले आफ्नो चोट देख्यो,

तब एफ्राइम अश्शूरतिर फर्क्यो,

र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो।

तर त्यसले तँलाई निको पार्न सक्दैन;

त्यसले तेरा घाउ निको पार्न सक्दैन।

किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै

र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु।

म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु;

म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।

जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्,

र तिनीहरूले मेरो अनुहार खोज्दैनन्,

तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु;

अनि आफ्नो कष्‍टमा

तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.