Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
आमोस 4
इस्राएल परमेश्वरतिर फर्केको छैन
हे सामरिया पर्वतमाथि बस्ने बाशानका गाईहरू हो, यो वचन सुन!
हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ;
अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!”
प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ:
“अवश्य नै समय आउनेछ,
जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ,
र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ।
तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट
सीधै बाहिर निस्कनेछौ।
तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,”
याहवेह घोषणा गर्नुहुन्छ।
“बेथेलमा जाओ र पाप गर;
गिलगालमा जाओ र अझ बढी पाप गर।
हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ!
हरेक तीन वर्षमा1 तिमीहरूका दशांश भेटी पनि ल्याओ।
खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ,
र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ;
अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर;
किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,”
प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
“मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ,
र हरेक नगरमा रोटीको अभाव गरिदिएँ;
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”
याहवेह घोषणा गर्नुहुन्छ।
“फसलको समय अझै तीन महिना बाँकी रहँदै
मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ।
मैले एउटा सहरमा वर्षाको पानी पठाएँ,
तर अर्को सहरमा रोकिदिएँ।
एउटा खेतमा पानी पर्यो;
तर अर्को खेतमाथि परेन, त्यो सुक्यो।
मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे,
तर प्रशस्त पिउनलाई पानी पाएनन्,
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”
याहवेह घोषणा गर्नुहुन्छ।
“धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ;
मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ।
सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए,
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”
याहवेह घोषणा गर्नुहुन्छ।
“मैले इजिप्टमा पठाएझैँ
तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ।
मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ
र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ।
मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ,
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”
याहवेह घोषणा गर्नुहुन्छ।
“मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी
तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु।
तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ,
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”
याहवेह घोषणा गर्नुहुन्छ।
“यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु;
किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले,
तिमीहरू आफ्ना परमेश्वरलाई भेट्न तयार होओ।”
जसले पर्वतहरू बनाउनुहुन्छ,
जसले बतासलाई सृजना गर्नुहुन्छ;
अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ;
उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ,
र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ;
उहाँको नाम याहवेह सेनाहरूका परमेश्वर हो।
Source notes (1)
- Footnote अथवा दिनहरूमा
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.