Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

आमोस 3

इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको

हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:

“पृथ्वीका सारा घरानाका बीचबाट

मैले केवल तिमीहरूलाई मात्र चुनेको छु;

यसकारण म तिमीहरूलाई तिमीहरूका

सबै पापहरूको दण्ड दिनेछु।”

के एक-आपसमा सहमत नभएसम्म

दुई जना सँगसँगै हिँड्छन् र?

के जङ्गलमा शिकार नै नभेटी

सिंह गर्जन्छ र?

के सिंहले केही फेला नपारीकन

त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?

के पासोमा चारो राखिएको छैन भने,

चरो पासोमा पर्छ र?

के पासोमा केही परेको छैन भने,

त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?

जब सहरमा तुरही फुकिन्छ,

तब के मानिसहरू डरले काम्दैनन् र?

जब सहरमा विपत्ति आउँछ,

के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?

निश्‍चय नै प्रभु याहवेहले

आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई

प्रकट नगरी केही पनि गर्नुहुन्‍न।

सिंह गर्जेको सुनेर,

को भयभीत नहोला र?

प्रभु याहवेहले बोल्नुभएको छ;

अनि कसले अगमवाणी गर्दैन र?

अश्दोदका किल्‍लाहरू

र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर:

“सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ;

त्यसभित्र भएको ठूलो अशान्ति

र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”

याहवेह घोषणा गर्नुहुन्छ,

“कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन;

तिनीहरूले खोसेका र लुटेका मालसामानहरू

तिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।”

यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

“शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ;

त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ,

र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।”

याहवेह यसो भन्‍नुहुन्छ:

“जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका

खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ,

त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू,

पलङको कुना र गद्दीमा बस्‍ने

थोरै मानिसहरू मात्र बचाइनेछन्।”

प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।

“जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,

म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु;

वेदीका चारैतिरका सिङहरू काटिनेछन्,

र ती भुइँमा खस्‍नेछन्।

म गर्मीका महल सँगसँगै हिउँदका

महललाई पनि भत्काउनेछु;

हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्,

र दरबारहरू भत्काइनेछन्,”

याहवेह घोषणा गर्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.