Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 तिमोथी 4

पवित्र आत्माले प्रष्‍ट गरी भन्‍नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्‍वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका1 शिक्षाको पछि लाग्नेछन्। यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ। तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्‍ने आदेश दिन्छन्। जुन भोजन विश्‍वास गर्नेहरू र सत्यता जान्‍नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्‍वरले सृष्‍टि गर्नुभयो। किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन। किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।

यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्‍वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ। भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ। किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्‍वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ। यो भनाइ विश्‍वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ। हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्‍वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।

यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ। तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्‍टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्‍वासमा र शुद्धतामा विश्‍वासीहरूको लागि उदाहरण बन। म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ। मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्‍त भएको वरदानको अवहेलना नगर।

यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्। आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।

Source notes (1)
  1. Footnote बाइबल धर्मशास्त्रमा भूतप्रेत भन्‍नाले कुनै देवलाई भनिएको होइन, तर केही पतित स्वर्गदूतलाई जनाउँदछ। हेर्नुहोस् यशै 14:12‑15

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.