Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 तिमोथी 3

अध्यक्षहरू र सेवकहरू

यो वचन विश्‍वासयोग्य छ: यदि कसैले अध्यक्ष1 हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ। अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ। मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ। तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ। यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्‍वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र? तिनी भर्खर विश्‍वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्। तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।

यसै गरी सेवकहरू2 पनि आदर पाउन योग्यका, दुईजिब्रे नहुने, मद्यपान नगर्ने, र अनुचित लाभ नखोज्ने हुनुपर्छ। तिनीहरूले विश्‍वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ। पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही दोष पाइएन भने तिनीहरूले सेवक भएर सेवा गरून्।

त्यसै गरी तिनीहरूका पत्नीहरू3 पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्‍वासयोग्य हुनुपर्छ।

सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्‍चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ। जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएका तिनीहरूका विश्‍वासमा महान् निश्‍चयता पाउनेछन्।

पावलका शिक्षाको उद्देश्य

म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु। यदि म आउन ढिलो भएँ भने तापनि परमेश्‍वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्‍वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्‍न सक। विनाशङ्का यो भन्‍न सकिन्छ, भक्तिको रहस्य महान् छ:

उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो,

पवित्र आत्मामा धर्मी ठहरिनुभयो,

स्वर्गदूतहरूद्वारा देखिनुभयो,

सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो,

र संसारमा उहाँलाई विश्‍वास गरियो,

महिमामा माथि लगिनुभयो।

Source notes (3)
  1. Footnote यो शब्दलाई बिशप भनेर पनि अनुवाद गरिएको छ।
  2. Footnote यसलाई डिकन भनेर पनि अनुवाद गरिएको छ, र यो शब्दले यहाँ मण्डलीका अध्यक्ष वा प्रधानहरूसित विभिन्‍न रूपमा सेवा दिने विश्‍वासीहरूलाई जनाउँछ; त्यसरी नै पद 12; र रोमी 16:1 र फिलि 1:1
  3. Footnote अथवा सेविकाहरू।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.