Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 तिमोथी 2

आराधनाको विषयमा शिक्षा

यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्‍च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। यो असल हो र हाम्रा मुक्तिदाता परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ। उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ। किनकि परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्‍ट येशू, जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो। अनि यही उद्देश्यले म एउटा प्रचारक र प्रेरित नियुक्त भएँ। म सत्य बोल्दछु र झूट बोल्दिनँ; गैरयहूदीहरूलाई विश्‍वास र सत्यताको शिक्षा दिनको निम्ति नियुक्त गरिएको छु।

यसकारण सबै ठाउँमा विनाक्रोध र विनाविवाद प्रार्थनामा पुरुषहरूले पवित्र हातहरू उठाऊन् भन्‍ने म चाहन्छु। त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्‍टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन। तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्‍वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।

स्त्रीले पूर्ण अधीनमा बसेर चुपचापसित सिकोस्। स्त्रीले पुरुषलाई सिकाउने वा अधिकार गर्ने अनुमति म दिन्‍नँ; तर ऊ चुपचाप नै रहोस्। किनकि पहिला आदम बनाइएका थिए, त्यसपछि हव्वा। आदम छलिएका होइनन्, तर स्त्री पो बहकाउमा परेर आज्ञा भङ्ग गरेकी हुन्। यदि विश्‍वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.