पवित्र बाइबल
भजनसंग्रह 80
हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस् । एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् । हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं । हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ? तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ । हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्यस्तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् । हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं । तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्यसलाई रोप्नुभयो । तपाईंले त्यसको निम्ति देशलाई सफा पार्नुभयो । त्यसले जरा हाल्यो र देशमा भरियो । त्यसको छायाले पहाडहरूलाई, त्यसका हाँगाहरूले परमेश्वरका देवदारुहरूलाई ढाक्यो । यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो । तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्? वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् । हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् । तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो । यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्ट हुन्छन् । तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् । तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं । हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.