Skip to content
BibleKenya

पवित्र बाइबल

भजनसंग्रह 79

हे परमेश्‍वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्‍नावशेषको थुप्रो बनाएका छन् । तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् । तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन । हाम्रा छिमेकीको निम्ति निन्दा र हाम्रा वरिपरि भएकाहरूका निम्ति खिसी र उपहास हामी बनेका छौं । हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ? तपाईंलाई नचिन्‍ने जातिहरूमाथि र तपाईंको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका र त्‍यसका गाउँहरूलाई नाश पारेका छन् । हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं । हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् । जातिहरूले किन यसो भन्‍ने “तिनीहरूका परमेश्‍वर खोइ कहाँ छ?” तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् । कैदीहरूका सुस्‍केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्‌ताले मृत्युका सन्तानहरूलाई जीवित राख्‍नुहोस् । हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् । यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.