पवित्र बाइबल
भजनसंग्रह 77
म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ । मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो । मैले सुस्केरा हाल्दा मैले परमेश्वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला तपाईंले मेरा आँखा खुल्ला राख्नुभयो । म बोल्नै नसक्ने कष्टमा थिएँ । मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें । मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्ने कोसिस गरें । के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन? के उहाँको करारको विश्वस्तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो? के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला मैले भनें, “यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।” तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्मका कामहरूका बारेमा म विचार गर्नेछु । तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु । हे परमेश्वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्वरसित कुन परमेश्वरको तुलना हुन्छ र? तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ । आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे । बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे । तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो । तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् । तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्याउनुभयो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.