पवित्र बाइबल
भजनसंग्रह 25
हे परमप्रभु, म आफ्नो जीवन तपाईंमा उचाल्छु । हे परमेश्वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्दित हुन नदिनुहोस् । तपाईंमा आसा राख्ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्जित होऊन् ! हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् । मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु । हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए । मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्वस्ततामा मलाई सम्झनुहोस् । परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ । उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ । परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्वस्तता हुन् । हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ । परमप्रभुको भय मान्ने मानिस को हो? त्यसले चुन्नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ । त्यसको जीवन भलाइमा बित्नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् । परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ । मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्त गर्नुहुनेछ । मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्लो र कष्टमा परेको छु । मेरो हृदयका कष्टहरू ठुला भएका छन् । मेरो कष्टहरूबाट मलाई बाहिर तान्नुहोस् । मेरो कष्ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् । मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् । मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु । निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु । हे परमेश्वर, इस्राएललाई त्यसको सबै कष्टबाट बचाउनुहोस् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.