पवित्र बाइबल
भजनसंग्रह 138
आफ्नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु । तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ । मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो । हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्नेछन् । वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ । किनकि परमप्रभु उच्च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्ता गर्नुहुन्छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्नुहुन्छ । म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ । परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्वस्तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्नुहोस् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.