पवित्र बाइबल
भजनसंग्रह 135
परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । तिमीहरू जो परमप्रभुको मन्दिरमा, हाम्रा परमेश्वरको मन्दिरको चोकहरूमा खडा हुन्छौ । परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो । किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ । परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ । परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्यही गर्नुहुन्छ । उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्नो भण्डारबाट हुरीबतास निकाल्नुहुन्छ । उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो । उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो । उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो, एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई । तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो । हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ । किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्ना सेवकहरूमाथि दया देखाउनुहुन्छ । जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् । ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् । तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ । तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति हुन्छ । हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर । हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर । सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.