पवित्र बाइबल
अय्यूब 26
तब अय्यूबले जवाफ दिए र भने, “शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ ! बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ ! कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो ? मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ । परमेश्वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्न सक्दैन । उत्तरी आकाशलाई उहाँले खुल्ला अन्तरिक्षमा तन्काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ । उहाँले पानीलाई आफ्नो बाक्लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् । उहाँले चन्द्रमाको सतहलाई ढाक्नुहुन्छ, र आफ्ना बादलहरू त्यसमाथि फैलाउनुहुन्छ । उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ । उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्क पर्छन् । आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो । आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो । हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र ?”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.