Skip to content
BibleKenya

पवित्र बाइबल

व्यवस्था 3

तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए । परमप्रभुले मलाई भन्‍नुभयो, 'त्यसदेखि नडरा । किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु । तैँले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् ।' त्यसैले परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो । हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्‍यौँ । त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्‍यौँ । हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्‍यौँ । यी सबै सहर अग्ला-अग्ला पर्खालले घेरिएका, प्रवेशद्वार र बारहरू भएका सहरहरू थिए । यीबाहेक पर्खाल नलगाइएका धेरै सहरहरू पनि थिए । हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्‍त्रीहरूसाथै स-साना बालबच्‍चालाई पूर्ण रूपमा नष्‍ट पार्‍यौँ । तर सबै गाईवस्तु र सहरका धनमाल भने लुटको मालको रूपमा हामीले लियौँ । त्यस बेला हामीले एमोरीहरूका दुई राजाका हातबाट यर्दन पारिको अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्मको देश कब्जा गर्‍यौँ । (हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्) । हामीले तराईका सबै सहर, सबै गिलाद, सबै बाशान, सलका र एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्‍यौँ । (रपाईहरूमा केवल बाशानका राजा जीवित रहे । तिनको पलङ्ग फलामको थियो । मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो । के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?) त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ । गिलादको बाँकी भाग र सम्पूर्ण बाशान अर्थात् ओगको राज्य (अर्गोबको सम्पूर्ण राज्य र सम्पूर्ण बाशान) मैले मनश्शेको आधा कुललाई दिएँ । (उही क्षेत्रलाई रपाईहरूको देश भनिन्छ । मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे । तिनले त्यस क्षेत्र र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात-याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ ।) मैले गिलादचाहिँ माकीरलाई दिएँ । रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ । यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो । त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ । तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् । परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र परमप्रभुले तिमीहरूलाई दिनुहुने यर्दनपारिको भूमि तिमीहरूलाई अधिकार गर्न नदिनुभएसम्म तिमीहरूले यसो गर्नू । तब मैले तिमीहरूलाई अधिकारमा दिएको देशमा तिमीहरू हरेक फर्केर आउने छौ ।' त्यस बेला मैले यहोशूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई गर्नुभएका सबै कुरा तिम्रो आफ्नै आँखाले देखेका छन् । अब तिमीहरू पारि जाँदा सबै राज्यलाई पनि परमप्रभुले उही गर्नुहुने छ । तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।' त्यस बेला मैले परमप्रभुलाई यसो भनेर बिन्ती चढाएँ, 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ? म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।' तर तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । उहाँले मेरो कुरा सुन्‍नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'तेरो लागि यति नै पर्याप्‍त होस् । अबदेखि उसो यस विषयमा मसित नबोल् । पिसगाको टाकुरामा उक्लेर तेरा आँखा पश्‍चिमतिर, उत्तरतिर, दक्षिणतिर र पूर्वतिर लगा । तेरा आँखाले हेर् किनकि तँ यर्दनपारि जान पाउने छैनस् । बरु, यहोशूलाई निर्देशन दिनू र त्यसलाई उत्साह दिएर बलियो पार्नू किनकि त्यो यो जातिको अगिअगि पारि जाने छ, र त्यसले नै तैँले देखेको यो देश तिनीहरूलाई अधिकार गर्न लाउने छ ।' त्यसैले हामी बेथ-पोरको सामुन्‍नेको बेँसीमा बस्यौँ ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.