Skip to content
BibleKenya

पवित्र बाइबल

व्यवस्था 2

तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ । परमप्रभुले मलाई यसो भन्‍नुभयो, ' तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क । मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ । तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्‍ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु । तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्‍नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।” त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ । परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।' (पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए । अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे । सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।) 'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ । कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्‍ट भइसकेको थियो । त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो । जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए, परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ । तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्‍नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।' (त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो । त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे । तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्‍ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे । परमप्रभुले सेइरमा बस्‍ने एसावका सन्तानहरूकै सामुन्‍ने होरीहरूलाई नष्‍ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्‍नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् । गाजासम्म टाढा गाउँहरूमा बस्‍ने अव्वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारी तिनीहरूको ठाउँमा बसोबास गरे ।) 'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर । पुरै आकाशमुनि भएका जाति-जातिहरूमा म तिमीहरूको डर र त्रास हाल्न सुरु गर्ने छु । तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्‍ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् ।' मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ, 'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ । खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस् । जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।' तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ । परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।' तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए । परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ । त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन । आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ । अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो । केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्‍वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.