पवित्र बाइबल
२ शमूएल 8
यसपछि यस्तो भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए । त्यसपछि तिनले मोआबलाई परास्त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले । त्यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्त गरे । दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे । जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे । तब दाऊदले दमसकसको आराममा छाउनी राखे र आरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्याए । दाऊद जहाँजहाँ गए, त्यहाँत्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो । दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए । हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए । दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने, तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए । राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे, ती आराम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि । दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो । तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए । दाऊद जहाँजहाँ गए त्यहाँत्यहाँ नै परमप्रभुले विजय दिनुभयो । दाऊदले सारा इस्राएलभरि शासन गरे र तिनले आफ्ना सबै मानिसलाई न्याय र धार्मिकता प्रदान गरे । सरूयाहका छोरा योआब सेनाका कमाण्डर थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए । अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए र सरायाह शास्त्री थिए । यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.