Skip to content
BibleKenya

पवित्र बाइबल

२ इतिहास 7

यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्‍वर्गबाट आगो तल झर्‍यो, र होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो । परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएको हुनाले पुजारीहरू मन्‍दिरभित्र पस्‍न सकेनन्‌ । आगो तल झरेको र परमप्रभुको महिमा मन्‍दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे र आराधना गरे र परमप्रभुलाई धन्‍यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए । सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्‍वरको मन्‍दिरको समर्पण गरे । पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए । सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई अलग गरे । त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌ । यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्‍मको एउटा ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड मनाए । आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड सात दिनसम्‍म मानेका थिए । परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए । यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे । परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु । मैले आकाशलाई बन्‍द गरें र पानी परेन भने, वा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने, तब मेरो आफ्‍नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्‍ना दुष्‍ट चालहरूबाट फर्किन्‍छ्न् भने, म स्‍वर्गबाट सुन्‍नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु । यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्‍नेछन्‌ । किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु र त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्‍टि र मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ । तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने, तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’ तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने, तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु, र सबै मानिसका बिचमा म त्‍यसलाई एउटा उखान र गिल्‍लाको पात्र बनाउनेछु । अहिले यो मन्‍दिर ज्‍यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर सुस्‍केरा निकाल्‍नेछ । तिनीहरूले सोध्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो गर्नुभयो?’ अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.