Skip to content
BibleKenya

पवित्र बाइबल

१ शमूएल 28

ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।” दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।” यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए । तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले । जब शाऊलले पलिश्‍तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो । शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो । तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्‍त्री मेरो निम्ति खोजेर ल्‍याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्‍न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्‍ने दाबी गर्ने एक जना स्‍त्री एन्दोरमा छिन् ।” शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्‍त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्‍छु त्यो मलाई ल्याइदेऊ ।” स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?” शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।” तब ती स्‍त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।” जब ती स्‍त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।” राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्‍त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।” तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे । शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।” शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ ? परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ । किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ । परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ ।” तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् । ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु । यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्‍नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।” तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे । ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् । उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्‍यही रातमा निस्‍किए ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.