पवित्र बाइबल
१ इतिहास 15
दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरे र त्यसको लागि एउटा पाल टाँगे । तब दाऊदले भने, “परमेश्वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्दूक बोक्न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्नुभएको थियो ।” त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए । दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए । कहातका सन्तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए । मरारीका सन्तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए । गेर्शोनका सन्तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए । एलीजापानका सन्तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए । हेब्रोनका सन्तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए । उज्जीएलका सन्तानबाट मुखिया अम्मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए । दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए । तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक राख्न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्यसलाई ल्याउन सक्छौ । तिमीहरूले यसलाई पहिलो पल्ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।” यसैले परमप्रभु इस्राएलका परमेश्वरको सन्दूकलाई तिनीहरूले ल्याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे । यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्वरको सन्दूकलाई आ-आफ्ना काँधमा डन्डाले बोकेर ल्याए । लेवीहरूका मुखियाहरूले आ-आफ्ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए । यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे । तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल । सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्यालीहरू बजाउन नियुक्त गरियो । जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए । मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे । लेवीहरूका अगुवा कनन्याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए । बेरेक्याह र एल्काना सन्दूकका गार्डहरू थिए । शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्वरका सन्दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्दूकका गार्डहरू थिए । यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई रमाउँदै गए । परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए । सन्दूक बोक्ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्याहले जस्तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए । यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्दूक ल्याए । तर जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । उनले दाऊद राजालाई नाच्दै र उत्सव मनाउँदै गरेका देखिन् । तब उनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.