पवित्र बाइबल
१ इतिहास 14
तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्ति एउटा महल बनाए । अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्नो राज्यलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो । यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए । यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, यिभार, एलीशूअ, एल्पेलेत, नोगह, नेपेग, यापी, एलीशामा, बेलीयादा र एलीपेलेत । अब दाऊद सम्पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्न निस्के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्किए । अब पलिश्तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए । तब दाऊदले परमेश्वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु ।” यसैले तिनीहरू बाल-पराजीमसम्म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्ने बाढीले किनार भत्काएझैं परमेश्वरले मेरा शत्रुहरूलाई मद्वारा भत्काउनुभयो ।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम रह्यो । पलिश्तीहरूले आफ्ना देवताहरू त्यहीं छोडे र तिनलाई जलाउनु भन्ने हुकुम दाऊदले दिए । तब पलिश्तीहरूले फेरि पनि उक्त बेंसीमा आक्रमण गरे । त्यसैले दाऊदले फेरि पनि परमेश्वरसँग मदत मागे । परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा । जब तैंले लहरे-पीपलका रूखका टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।” यसैले परमेश्वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्मै पराजित गरे । तब दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.