Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 66

सङ्गीत निर्देशकको निम्ति, एक गीत; एक भजन।

हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर!

उहाँको नामको महिमा गर;

र उहाँको प्रशंसा महिमामय बनाओ।

परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्!

तपाईंको शक्ति यति महान् छ

कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।

सारा पृथ्वी तपाईंको सामु झुक्छ;

तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्,

तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला

आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर;

मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू!

उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो,

तिनीहरूले पैदलै सुक्खा नदी तरे—

आओ, हामी उहाँमा आनन्द मनाऔँ।

परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ;

उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ—

तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला

हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर,

उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्;

उहाँले हामीलाई जीवित राख्नुभएको छ,

र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन।

किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो;

तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।

तपाईंले हामीलाई कैदमा पार्नुभयो;

र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो।

तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो;

हामी आगो र पानीद्वारा भएर गयौँ;

तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।

म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु;

र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।

जब म सङ्कष्‍टमा थिएँ,

मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु।

म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु;

र भेडाहरूको भेटी चढाउनेछु;

म बहरहरू र बोकाहरू चढाउनेछु। सेला

हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन;

उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।

मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ;

उहाँको प्रशंसा मेरो जिब्रोमा थियो।

यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए,

प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन;

तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ;

र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ।

परमेश्‍वरलाई प्रशंसा होस्,

जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन,

वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.