Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 42:11
Verse 11 is marked below, with the whole chapter around it. Read from the start
दोस्रो खण्ड
भजनसंग्रह 42–72
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल।
जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,
त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु।
मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ।
म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?
मेरो आँसु दिनरात
मेरो भोजन बनेको छ,
मानिसहरू निरन्तर मलाई भनिरहन्छन्,
“खोइ त तेरो परमेश्वर?”
मेरो हृदयका कुराहरू पोखाउँदा,
यी कुराहरू म सम्झन्छु:
कसरी ती उत्सव मनाउने जन समूहहरूसँग
जयजयकार र धन्यवादसाथ,
महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर
तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ।
हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्?
परमेश्वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
मेरो प्राण मभित्र उदास भएको छ;
यसकारण म यर्दनको देशबाट
हेर्मोन पर्वत—मिसारको डाँडाबाट
तपाईंलाई सम्झनेछु।
तपाईंको छाँगाहरूका गर्जनमा,
सागरले सागरलाई पुकार्दछ;
तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले
मलाई छोपेका छन्।
याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,
राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,
जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो।
परमेश्वर मेरा चट्टानलाई म भन्छु,
“तपाईंले मलाई किन बिर्सनुभएको?
शत्रुको थिचोमिचोले गर्दा
म किन शोक गरेर हिँडिरहनुपर्ने?”
मेरा हाडहरूमा गहिरो चोट पर्छ,
जब मेरा वैरीहरूले
मलाई गिल्ला गर्दै दिनभरि भन्छन्,
“खोइ त तेरो परमेश्वर?”
हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?
परमेश्वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.