Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 109

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

मेरा परमेश्‍वर, जसको म प्रशंसा गर्छु,

तपाईं चुप लागेर नबस्‍नुहोस्;

किनकि दुष्‍ट र छली मानिसहरूले

मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्;

तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।

तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्;

कारणविना तिनीहरू मलाई हमला गर्छन्।

मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्,

तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ।

तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्,

र मेरो मित्रताको साटो घृणा गर्छन्।

मेरो शत्रुका विरोध गर्न कुनै दुष्‍ट मानिसलाई खटाउनुहोस्;

त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्!

त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्,

र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्!

त्यसको आयु कम होस्;

त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्!

त्यसका छोराछोरीहरू अनाथ होऊन्

र त्यसकी पत्नी विधवा होस्!

त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्;

तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्।

त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्;

त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्!

त्यसमाथि कसैले पनि दया नगरोस्,

न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्!

त्यसका सन्तानहरू मरेर जाऊन्;

र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्!

याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्;

त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्!

तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्,

ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्!

किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन,

तर दुःखी, अभावग्रस्त

र हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो।

त्यसले श्राप दिन मन पराउँथ्यो—

त्यसको श्राप त्यसमाथि नै आइपरोस्;

त्यसले आशिष् दिन रुचाएन—

त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्!

त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो;

त्यो पानीझैँ त्यसको पेटभित्र

तेलझैँ त्यसका हाडहरूमा पसोस्!

श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्,

र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्।

मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्‍ट कुरा गर्नेहरूलाई

याहवेहबाट यस्तै प्रतिफल मिलोस्!

तर हे प्रभु याहवेह,

तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्;

तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्!

किनकि म गरिब र खाँचोमा छु,

र मभित्र मेरो हृदय घाइते भएको छ।

म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु;

म सलहझैँ हुत्त्‍याइएर फालिएको छु।

उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्;

मेरो शरीर हाड र छाला मात्र भएको छ।

मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु;

जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्‍लाउँछन्।

हे याहवेह, मेरा परमेश्‍वर, मलाई मदत गर्नुहोस्;

तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्;

ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्;

हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्!

तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्;

मलाई आक्रमण गर्नेहरू लाजमा परून्;

तर तपाईंको सेवक रमाओस्!

मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्,

र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्!

म मेरा ओठले याहवेहलाई उच्‍च प्रशंसा गर्नेछु;

आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु।

किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि

उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.