Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यशैया 18
कूश देशको विरुद्धमा भविष्यवाणी
धिक्कार, कूशका नदीहरूका किनारमा भएको
हुरुरु आवाज1 निकाल्नेहरूको देश,
जसले पानीमाथि निगालोका डुङ्गाहरूमा
समुद्री बाटोद्वारा दूतहरू पठाउँछ।
फूर्तिला दूतहरू,
अग्ला र चिल्ला छाला भएका मानिसहरूकहाँ जाओ;
चारैतिर डर मानिएका जातिकहाँ,
अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ,
जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।
हे संसारका सबै मानिसहरू हो,
जो यस पृथ्वीमा बस्दछौ,
जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ,
तिमीहरूले त्यसलाई देख्नेछौ;
अनि तुरही बज्दा
तिमीहरूले त्यो सुन्नेछौ।
याहवेहले मलाई यसो भन्नुहुन्छ:
“म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ,
र कटनीको समय गर्मीमा शीतको बादलझैँ
आफ्नो वासस्थानबाट हेर्नेछु।”
किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ,
र फूलबाट बढेर अङ्गुर पाकेको हुन्छ,
तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ;
अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।
तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ
र वन-पशुहरूकहाँ छोडिनेछन्;
तब पक्षीहरूले ग्रीष्मकालभरि
र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।
त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ।
अग्ला र चिल्ला छाला भएका मानिसहरूबाट
चारैतिर डर मानिएका जातिबाट,
अनौठो बोली भएका आक्रमणकारी जातिबाट,
जसको देशलाई नदीहरूले भाग गरेको छ।
सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।
Source notes (1)
- Footnote अथवा सलह
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.