Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यशैया 17
दमस्कसको विरुद्धमा भविष्यवाणी
दमस्कसको विषयमा भविष्यवाणी:
“हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन,
तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ।
अरोएरका सहरहरू उजाड पारिनेछन्,
त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्;
अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।
सुरक्षित सहर एफ्राइमबाट हराउनेछ,
र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ;
अरामका बाँचेको भाग
इस्राएलीहरूको गौरवझैँ हुनेछ,”
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
“त्यस दिन याकोबको गौरव लोप हुनेछ;
त्यसको शरीरको बोसो बिलाएर जानेछ।
कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ;
त्यसको हातले अन्न टिपेझैँ
रपाईहरूको बेँसीमा
कुनै मानिसले शिला-बाला टिपेझैँ त्यो हुनेछ।
तापनि जैतुनको रूखबाट फल झारेपछि
दुई-तीन वटा फल हाँगाको टुप्पाका रहेझैँ,
चार-पाँच वटा फलदायक हाँगाहरूमा रहेझैँ,
केही शिला-बालाचाहिँ रहनेछन्,”
याहवेह, इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ।
त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन्;
अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्वरतिर फर्काउनेछन्।
तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन्
जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्;
अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रति
तिनीहरूको श्रद्धा हुनेछैन।
त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ।
तिमीहरूले परमेश्वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ;
तिमीहरूले आफ्ना चट्टान र किल्लालाई सम्झेका छैनौ।
यसकारण तिमीहरूले उत्तम बोटहरू
र परदेशी कलमीहरू रोप्छौ,
तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि;
अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि
रोग र निको नहुने कष्टको दिनमा
कटनी शून्य हुनेछ।
हाय! धेरै राष्ट्रहरूका खैलाबैला,
तिनीहरू जो समुद्रझैँ हल्ला मच्चाउँछन्!
सुन! जातिहरूका खैलाबैला—
तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्!
पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि
परमेश्वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्;
अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ,
र आँधीको सामु सानो झारझैँ हुर्याइनेछन्।
साँझमा अचानक आतङ्क हुन्छ!
बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्!
हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ;
हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.