Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

सपन्याह 3

यरूशलेम

धिक्‍कार छ, त्यस अत्याचारी सहरलाई,

जो विद्रोही र अशुद्ध छे!

त्यसले कसैको कुरा पनि मानिन;

त्यसले अनुशासनलाई स्वीकार गर्दिन।

त्यसले याहवेहमाथि भरोसा राख्दिन;

अनि त्यो आफ्नो परमेश्‍वरको नजिकमा आउँदिन।

त्यसका अधिकारीहरू

भोकाएका गर्जने सिंहहरूजस्ता छन्;

अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्,

जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्।

त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्;

तिनीहरू विश्‍वासघाती मानिसहरू हुन्।

त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्,

र परमेश्‍वरको नियमलाई तोड्दछन्।

त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ;

उहाँले कहिल्यै खराबी गर्नुहुन्‍न।

बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ;

अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्‍न,

तर पनि अधर्मीले लज्जित हुन जान्दैन।

पश्‍चात्ताप नगरी रहने यरूशलेम

“मैले राष्ट्रहरूलाई नाश गरेको छु;

तिनीहरूका बलिया किल्‍लाहरू ध्वस्त भएका छन्।

त्यस सहरबाट भएर कोही हिँड्दैन;

मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु;

तिनीहरूका सहरहरू बिरानो भएका छन्;

ती उजाड र खाली भएका छन्।

मैले यरूशलेम सहरको बारेमा भनेँ,

‘निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस्,

र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’

तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन,

न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्।

तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा

झन् भ्रष्‍टतापूर्वक उत्सुक थिए।”

याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु,

यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो।

राष्ट्रहरूलाई एकसाथ भेला गर्न,

र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न;

अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु—

मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु।

समस्त पृथ्वी मेरो डाहको

आगोले भस्म हुनेछ।

इस्राएलको अवशेषको पुनर्स्थापना

“त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु,

ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्,

र एउटै मनले उहाँको सेवा गरून्।

कूश देशका नदीहरूभन्दा पारिबाट

मेरा छरपस्ट भएका मेरा आराधकहरूले

मेरा निम्ति भेटी ल्याउनेछन्।

त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका

सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन;

किनकि म तिमीहरूको बीचबाट

धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु।

तिमीहरू फेरि कहिल्यै

मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ।

तर म तेरो बीचमा

नम्र र दीनहरूलाई छोड्नेछु।

इस्राएलका बाँकी रहेकाहरूले

याहवेहको नाममा भरोसा गर्नेछन्।

इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्;

तिनीहरूले कुनै झूटो बोल्नेछैनन्।

तिनीहरूका मुखमा

कुनै पनि छलका कुरा पाइनेछैन।

तिनीहरू खानेछन्, सुत्नेछन्

र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।”

हे सियोनकी छोरी, गीत गा;

हे इस्राएल, उच्‍च सोरमा करा!

हे यरूशलेमकी छोरी,

आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्!

याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ;

तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ।

याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ;

अब फेरि तैँले कुनै खराबीको डर मान्‍नुपर्दैन।

त्यस दिन

तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्,

“हे सियोन, नडरा;

तेरा हातहरू लुला हुन नपाऊन्।

याहवेह, तेरा परमेश्‍वर तँसित हुनुहुन्छ;

तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।

उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;

उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,

तर तँप्रति प्रसन्‍न भएर उहाँले गीत गाउनुहुनेछ।”

“जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्,

जो तेरा निम्ति बोझ र बदनामी भएका छन्,

म तँबाट हटाइदिनेछु।

त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित

म बदला लिनेछु।

म लङ्गडाहरूलाई उद्धार गर्नेछु;

अनि निर्वासितहरूलाई जम्मा गर्नेछु।

तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए,

म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु।

त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु;

म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु।

जब म तिमीहरूका सुदिन

तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु,

तब म तिमीहरूलाई पृथ्वीका

समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,”

याहवेह भन्‍नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.