Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

सपन्याह 2

यहूदा र यरूशलेमको पनि अरू राष्ट्रहरूसँगै न्याय गरिएको

यहूदालाई पश्‍चात्ताप गर्नलाई बोलाइयो

ए लाज नभएको राष्ट्र,

एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ!

जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि,

र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि,

याहवेहको भयङ्कर क्रोध

तिमीहरूमाथि आउनुभन्दा अगि,

र याहवेहको क्रोधको दिन

तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।

हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ,

तिमीहरूले याहवेहको खोजी गर।

धार्मिकता र नम्रताको खोजी गर;

सायद याहवेहको क्रोधको दिनमा

तिमीहरूले शरण पाउनेछौ।

पलिश्ती

गाजालाई त्यागिनेछ,

र अश्कलोनलाई उजाड पारिनेछ।

मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ

र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।

समुद्रका छेउमा बसोबास गर्ने,

हे करेतीहरू हो, तिमीहरूलाई धिक्‍कार छ;

हे पलिश्तीहरूको देश, कनान,

याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ,

उहाँले भन्‍नुहुन्छ, “म तँलाई नाश पार्नेछु,

कोही पनि जीवित छोडिनेछैन।”

समुद्री किनारको देशचाहिँ खर्क हुनेछ,

जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ

र भेडाहरूका निम्ति गोठ हुनेछ।

त्यो समुद्री किनारको भूमि

यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ;

त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्।

राति तिनीहरू अश्कलोनका

घरहरूमा सुत्नेछन्।

याहवेह, तिनीहरूका परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ;

उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।

मोआब र अम्मोन

“मैले मोआबले गरेको अपमान

र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु,

जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्,

र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।

यसकारण म जीवित भएझैँ,”

सेनाहरूका याहवेह,

इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ,

“निश्‍चय नै मोआब सदोमजस्तै र

अम्मोनीहरू गमोराजस्तै हुनेछन्;

सामा र नुनका खाडलैखाडल भएको ठाउँ,

र सधैँका निम्ति रुखो जमिन हुनेछन्।

मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्;

मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”

तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका

मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा

तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।

याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ,

जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ।

उहाँलाई टाढाका राष्ट्रहरूले

आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।

कूश

“हे कूशका मानिसहरू हो,

तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”

अश्शूर

उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ,

र अश्शूरलाई नाश गर्नुहुनेछ;

अनि निनवेलाई पूरै उजाड

र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।

त्यहाँ सबै किसिमका जीवजन्तुका

बथान र बगालले आराम गर्नेछन्;

मरुभूमिको उल्‍लु र कराउने उल्‍लुहरूले

त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्।

झ्यालहरूबाट ती उल्‍लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्;

ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्,

र देवदारुका चौकसहरू उदाङ्गिनेछन्।

यो त्यही घमण्डी सहर हो,

जुन सुरक्षितसाथ निर्धक्‍क बस्दथ्यो।

त्यसले आफूलाई भनेकी थिई,

“म नै हुँ, र मबाहेक अरू कोही छैन!”

अहिले त्यसको कस्तो विनाश भएको छ!

त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ!

त्यहाँबाट भएर जानेहरू सबैले

त्यसलाई आफ्नो मुक्‍का देखाएर खिसी गर्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.